एनएसआईएस पाठ्यक्रमको पहिलो चरणको पाइलटिङ कार्यक्रम सम्पन्न
Loading...
मिति २०८३ साल मंसिर ९ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यूको प्रमुख आतिथ्यतामा एनएसआईएस पाठ्यक्रमको पहिलो चरणको पाइलटिङ कार्यक्रम सम्पन्न भएको छ। युरोपेली संघको सहवित्तीय सहयोगमा भारत, श्रीलंका र नेपालमा सञ्चालन भइरहेको ‘व्यवसाय, नवप्रवर्तन तथा उद्यमशीलताका लागि सूचना, अनुसन्धान र डिजिटल सीप विकास’ परियोजनाअन्तर्गत विश्वविद्यालयको तालिम इकाइको हलमा कार्यक्रम आयोजना गरिएको हो।
प्रमुख अतिथि एवं उपकुलपति ई. डा. राजन सुवालज्यूले पाठ्यक्रमको पहिलो चरणको निर्माण तथा पाइलटिङ सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै यसका १० वटा मोड्युलले दैनिक जीवनमा समेत उपयोगी सीप प्रदान गर्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
विश्वविद्यालयका रजिस्ट्रार एवं विशेष अतिथि डा. सुदीप ठकुरीज्यूले शुभकामना मन्तव्यका क्रममा परियोजनाले प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई आफ्नो शैक्षिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले यसबाट प्राप्त उपलब्धि भविष्यमा शैक्षिक तथा व्यावसायिक क्षेत्रमा देखिने विश्वास समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा एनएसआईएस परियोजनाका विश्वविद्यालय संयोजक उपप्रा. कल्पना पौडेलले परियोजनाको परिचय प्रस्तुत गर्नुभएको थियो। साथै उहाँले एनएसआईएस पाठ्यक्रमअन्तर्गत मोड्युल ९ ‘परिवर्तित विश्वमा रोजगारी तथा करियर विकास’ विषयमा प्रशिक्षण दिनुभएको थियो। त्यस्तै उपप्रा. कमला कुमारी तिवारीले मोड्युल १ ‘अध्ययन सीप विकास’का बारेमा र उपप्रा. पन्चदेव भट्टले मोड्युल २ ‘पुस्तकालय, डिजिटल तथा सूचना साक्षरता’ विषयमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको सम्पूर्ण सत्रको रोमानियास्थित एनएसआईएस (एमबीटीटी)का प्रतिनिधि मिहाई बार्सानले अनलाइन माध्यमबाट अवलोकन गर्नुभएको थियो। उहाँले उक्त पाठ्यक्रमका मोड्युलहरूको प्रस्तुति एवं कार्यक्रम प्रभावकारी तथा उत्कृष्ट रहेको बताउनुभएको थियो। कार्यक्रममा प्राध्यापक, उपकुलपति तथा रजिस्ट्रार सचिवालयका सदस्यहरू, केन्द्रीय कार्यालयका कर्मचारी, विभिन्न संकायका विद्यार्थीलगायतको सहभागिता रहेको थियो। पाठ्यक्रमका मोड्युलहरू सफलतापूर्वक सञ्चालनमा आएसँगै अनलाइन माध्यमबाट निःशुल्क रूपमा कुनै एक वा सबै मोड्युलमा भर्ना भई अध्ययन पूरा गरेपछि प्रमाणपत्र प्राप्त गर्न सकिनेछ।