इन्जिनियरिङ स्नातक तहका नवआगन्तुक विद्यार्थीलाई स्वागतसॅगै अभिमुखीकरण कार्यक्रम सम्पन्न
मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङअन्तर्गत सिभिल इन्जिनियरिङ केन्द्रीय विभाग र कम्प्युटर इन्जिनियरिङ केन्द्रीय विभागमा चालु शैक्षिक सत्र २०८३/०८४ का लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई २०८३ साल मंसिर ४ गते शुक्रबार एक समारोहबीच स्वागत तथा अभिमुखीकरण गरिएको छ।
वीरेन्द्रनगर, सुर्खेतस्थित ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङमा आयोजित कार्यक्रममा बीई सिभिल इन्जिनियरिङतर्फ ९६ र बीई कम्प्युटर इन्जिनियरिङतर्फ २४ गरी कुल १२० जना नवआगन्तुक विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका डीन सहप्राध्यापक डा. दिपकराज अधिकारीले इन्जिनियरिङ शिक्षा ज्ञान, सीप, सिर्जनशीलता र नवप्रवर्तनसँग जोडिएको विशिष्ट शैक्षिक क्षेत्र भएकाले विद्यार्थीले अध्ययनसँगै व्यावहारिक दक्षता, अनुशासन तथा अनुसन्धानमुखी सोचको विकास गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विभागीय प्रमुख ई. सुरेन्द्रबहादुर शाहीसहित उपप्राध्यापकद्वय ई. गोविन्द खत्री र ई. प्रविन भुसालले संस्थाका नीति तथा नियम, इन्जिनियरिङ शिक्षाको शैक्षिक संरचना, पाठ्यक्रम, मूल्याङ्कन प्रणाली, प्रयोगात्मक अभ्यास, अनुसन्धान र व्यावसायिक सम्भावनालगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।
सिभिल इन्जिनियरिङ केन्द्रीय विभागका विभागीय प्रमुख ई. सुरेन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्प्युटर इन्जिनियरिङ केन्द्रीय विभागका निमित्त प्रमुख उपप्राध्यापक वसन्तकुमार रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विश्वविद्यालयका प्रशासन अधिकृत शेरबहादुर के.सी.ले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रमले समारोहलाई थप उल्लासमय बनाएको थियो।