Skip to main content
मध्यपश्चिम विश्वविद्यालयमा ‘इन्जिनियरिङ फेस्ट–२०८३’ सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयमा ‘इन्जिनियरिङ फेस्ट–२०८३’ सम्पन्न

News

View Gallery
Loading...

मिति २०८३ साल साउन ३० गते मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङको आयोजनामा ‘इन्जिनियरिङ फेस्ट–२०८३’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन समारोहमा विश्वविद्यालयका उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यू प्रमुख अतिथि रहनुभएको थियो भने रजिष्ट्रार सह-प्रा. डा. अर्जुनबहादुर अयडीज्यू विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

सिभिल इन्जिनियरिङ केन्द्रीय विभागका विभागीय प्रमुख उपप्रा. सुरेन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ग्र्याजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका डिन सह-प्रा. डा. दीपक राज अधिकारी, ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्रीका डिन सह-प्रा. डा. करण सिंह धामी, कम्प्युटर इन्जिनियरिङ केन्द्रीय विभागका प्रमुख उप-प्रा. कपिल बुढाथोकी तथा ग्र्याजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका उपप्राध्यापकद्वय डा. पुष्पराज आचार्य र धर्मराज थापा अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य उप-प्रा. ई. गोविन्द खत्रीले प्रस्तुत गर्नुभएको थियो भने ‘इन्जिनियरिङ फेस्ट–२०८३’ का सम्बन्धमा कार्यक्रमका अध्यक्ष तथा सिभिल इन्जिनियरिङ केन्द्रीय विभागका विभागीय प्रमुख उप-प्रा. सुरेन्द्रबहादुर शाहीले जानकारी गराउनुभएको थियो। कार्यक्रमको सञ्चालन कृष्णप्रसाद शर्माले गर्नुभएको थियो।

फेस्टमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै विद्यार्थीहरूले तयार पारेका विभिन्न इन्जिनियरिङ नमुना तथा मोडलहरूको प्रदर्शनी गरिएको थियो। प्रदर्शनीले विद्यार्थीहरूलाई आफूले अध्ययन गरेका विषयवस्तुलाई प्रयोगात्मक रूपमा प्रस्तुत गर्ने तथा आफ्ना सिर्जनात्मक कार्यहरू प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो।

इन्जिनियरिङ फेस्टको अवलोकनमा मध्यपश्चिम विश्वविद्यालय, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागअन्तर्गतका सीएसआईटीका विद्यार्थीहरू, इगरब्रिज आवासीय माध्यमिक विद्यालय, अमरज्योति विद्यालय तथा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूले प्रदर्शनीमा राखिएका इन्जिनियरिङ नमुना तथा मोडलहरूको अवलोकन गर्नुका साथै विभिन्न प्रस्तुतिहरूमा सहभागी हुँदै कार्यक्रमबाट प्रयोगात्मक तथा शैक्षिक अनुभव प्राप्त गरेका थिए।

इन्जिनियरिङ शिक्षालाई प्रयोगात्मक, सिर्जनात्मक र विद्यार्थी–केन्द्रित बनाउने उद्देश्यले साउन २९ र ३० गते गरी दुई दिन सम्म संचालित उक्त फेस्टले विद्यार्थीहरूको ज्ञान, सीप तथा सिर्जनात्मक क्षमतालाई प्रस्तुत गर्ने साझा मञ्च प्रदान गरेको थियो।