मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ एजुकेसन, सुर्खेतद्वारा आयोजित मिति २०८३ साल भाद्र २४ गतेदेखि ‘विश्वविद्यालयव्यापी फ्याकल्टी विकास कार्यक्रम : डिजिटल पेडागोजी, लर्निङ म्यानेजमेन्ट सिस्टम, डिजिटल सहकार्य, जेनेरेटिभ एआई तथा विभिन्न विषयमा व्यावसायिक अभ्यास’ विषयक पाँच दिने तालिम कार्यक्रम सुरु भएको छ। नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, विद्यालय शिक्षाका लागि प्राविधिक सहयोग (टेक्सेस नेपाल) को सहयोगमा सञ्चालित यस पाँच दिने कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको सामाजिक विज्ञान समूहका विभागीय प्रमुख तथा प्राध्यापक गरी जम्मा ४० जना सहभागी रहेका छन्।
कार्यक्रमको पहिलो दिन उद्घाटन सत्र सञ्चालन गरिएको थियो, जसको अध्यक्षता ग्र्याजुएट स्कुल अफ एजुकेसनका डिन डा. आनन्द प्रसाद सुवेदीज्यूले गर्नुभएको थियो। कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यू प्रमुख अतिथिका रूपमा तथा रजिस्ट्रार सहप्रा. डा. सुदीप ठकुरीज्यू विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।
कार्यक्रममा विश्वविद्यालयअन्तर्गतका विभिन्न ग्र्याजुएट स्कुलका डिनहरू अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा फिनल्यान्ड दूतावास, काठमाडौंकी शिक्षा तथा विकास सल्लाहकार जोहाना कुर्की, हेल्सिन्की विश्वविद्यालयकी शिक्षण अभ्यास सुपरिवेक्षक तथा प्रशिक्षक टिया कान्तोला र कम्प्युटर विज्ञान तथा एआई शिक्षा अनुसन्धानकर्ता अजय कुमार यादवको समेत उपस्थिति रहेको थियो। त्यसै गरी मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत विभिन्न निर्देशनालयका कार्यकारी निर्देशकहरू क्रमशः डा. विष्णुकुमार खड्का, डा. यदु प्रसाद ज्ञवाली र डा. लक्ष्मी प्रसाद आचार्य तथा कर्णाली प्रदेश टेक्सेसका संयोजक बखत बहादुर भण्डारीको सहभागिता रहेको थियो।
उद्घाटन सत्रमा शिक्षा, गणित, विज्ञान तथा विशेष आवश्यकता शिक्षासम्बन्धी विषय समिति प्रमुख डा. प्रेम कुमारी ढकालले स्वागत मन्तव्य तथा कार्यक्रमको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश टेक्सेसका संयोजक बखत बहादुर भण्डारी, फिनल्यान्ड दूतावासकी सल्लाहकार जोहाना कुर्की, रजिस्ट्रार डा. सुदीप ठकुरी र उपकुलपति ई. डा. राजन सुवालले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले डिजिटल पेडागोजी, कृत्रिम बुद्धिमत्ता र आधुनिक प्रविधिको प्रयोगले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो। उद्घाटन सत्रको अन्त्यमा डिन डा. आनन्द प्रसाद सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
उद्घाटन सत्रपछि दिनभरि चारवटा प्राविधिक सत्र सञ्चालन गरिएका थिए। पहिलो सत्रमा डा. आनन्द प्रसाद सुवेदीले ‘मध्यपश्चिम विश्वविद्यालयको मूल्याङ्कन प्रणालीसम्बन्धी नीति तथा अभ्यास’ विषयमा प्रस्तुति दिनुभएको थियो। दोस्रो सत्रमा टिया कान्तोलाले ‘कृत्रिम बुद्धिमत्ता पेडागोजी : कृत्रिम बुद्धिमत्तासँग शिक्षण तथा सिकाइ’ विषयमा जानकारी दिनुभएको थियो। त्यसैगरी, तेस्रो सत्रमा डा. यदु प्रसाद ज्ञवालीले ‘सक्रिय तथा विषयअनुकूल सिकाइ’ विषयमा प्रस्तुति दिनुभएको थियो। कार्यक्रमको अन्तिम अर्थात् चौथो सत्रमा अजय कुमार यादवले ‘कृत्रिम बुद्धिमत्ता तथा लार्ज ल्याङ्ग्वेज मोडलका आधारभूत पक्ष’ विषयमा प्रशिक्षण दिनुभएको थियो ।
पाँच दिन सम्म चल्ने यस कार्यक्रम मार्फत प्राध्यापकहरूले डिजिटल पेडागोजी, लर्निङ म्यानेजमेन्ट सिस्टम, डिजिटल सहकार्य तथा जेनेरेटिभ एआईसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गर्ने अपेक्षा गरिएको छ।पहिलो दिनको कार्यक्रमको सहजीकरण उपप्रा. भीमबहादुर रोकायाले गर्नुभएको थियो।