इजरायलका राजदूतसँग मध्यपश्चिम विश्वविद्यालयमा अन्तरक्रिया, शैक्षिक सहकार्य र कृषि क्षेत्रको विकासमा जोड
मिति २०८३ साल कात्तिक १६ गते नेपालका लागि इजरायलका राजदूत महामहिम श्मुलिक एरी बासज्यूले मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरी विश्वविद्यालयका पदाधिकारीहरूसँग शैक्षिक सहकार्य, प्राध्यापकहरूको क्षमता विकास, प्रयोगशाला सुविधाको विस्तार तथा कृषि क्षेत्रको विकासका विषयमा छलफल गर्नुभएको छ।
मध्यपश्चिम विश्वविद्यालयमा सोमबार आयोजित ‘एमयू विथ एम्बेसडर’ कार्यक्रममा विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यूको अध्यक्षता तथा नेपालका लागि इजरायलका राजदूत महामहिम श्मुलिक एरी बासज्यूको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा राजदूत बासकी धर्मपत्नी मिराभ पेलेग बास तथा दूतावासका राजनीतिक सल्लाहकार रमेश भट्टज्यूको समेत उपस्थिति थियो।
कार्यक्रममा उपकुलपति ई. डा. सुवालज्यूले कर्णाली प्रदेश प्राकृतिक स्रोतसाधनका दृष्टिले समृद्ध रहेको उल्लेख गर्दै यहाँको सम्भावनालाई उपयोग गर्न इजरायलका विश्वविद्यालयहरूसँग सहकार्य गर्न सकिने बताउनुभयो। उहाँले मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरूको क्षमता अभिवृद्धि, प्रयोगशाला सुविधाको विकास तथा शैक्षिक र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्नुभयो। साथै, इजरायलका विभिन्न विश्वविद्यालयसँग संस्थागत सहकार्य विस्तारका लागि राजदूतको सहयोग र सहजीकरणको अपेक्षा व्यक्त गर्नुभएको थियो।
त्यस्तै कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा. सुदीप ठकुरीज्यूले स्वागत मन्तव्य राख्दै मध्यपश्चिम विश्वविद्यालयको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो । उहाँले विश्वविद्यालयका शैक्षिक कार्यक्रम, संस्थागत अवस्था तथा प्राथमिकताबारे जानकारी गराउनुभएको थियो।
प्रमुख अतिथि राजदूत बासज्यूले कर्णाली प्रदेशमा विकास र सहकार्यका प्रशस्त सम्भावना रहेको बताउँदै इजरायलका विभिन्न विश्वविद्यालयसँग आवश्यक सहकार्यका लागि आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विशेषगरी कृषि क्षेत्रसँग सम्बन्धित ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत नेपाली कृषि विद्यार्थी तथा स्नातकहरूलाई अवसर प्रदान गर्न सकिने विषयमा जोड दिनुभयो। विश्वविद्यालयले गरेको आत्मीय स्वागतप्रति धन्यवाद व्यक्त गर्दै उहाँले आपसी सहकार्यलाई अघि बढाउन आफू सकारात्मक रहेको बताउनुभयो।
उपकुलपतिज्यू र राजदूतज्यूबीच मध्यपश्चिम विश्वविद्यालयलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा इजरायलका विभिन्न विश्वविद्यालयसँग शैक्षिक र संस्थागत सहकार्य विस्तार गर्ने विषयमा थप छलफल भएको थियो। यसै क्रममा ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डिन डा. करन सिंह धामिज्यूले विगतमा नेपाली कृषि स्नातकहरूका लागि सञ्चालन भएका ‘लर्न एन्ड अर्न’ कार्यक्रम तथा प्राध्यापक आदानप्रदान कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । उहाँले ग्र्याजुएट स्कुलका विद्यार्थी, कृषि स्नातक तथा प्राध्यापकहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र थप सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको संचालन योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काज्यूले गर्नुभएको थियो भने विश्वविद्यालयको परिचयसम्बन्धी प्रस्तुति अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवालीज्यूले दिनुभएको थियो। कार्यक्रममा विश्वविद्यालयका विभिन्न ग्र्याजुएट स्कुलका डिन, परीक्षा व्यवस्थापन प्रमुख, कार्यकारी निर्देशक, पदाधिकारी तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको थियो।