शोक तथा समवेदना प्रकट गर्न मध्यपश्चिम विश्वविद्यालयमा शोकसभा
रसुवा जिल्लाको रुसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति शोक तथा समवेदना प्रकट गर्न मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज भदौ २२ गते शोकसभा आयोजना गरिएको छ। शोकसभाका क्रममा एक मिनेट मौन धारण गरी नेपालको राष्ट्रिय झण्डा तथा मध्यपश्चिम विश्वविद्यालयको झण्डा आधा झुकाई मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
शोकसभालाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालज्यूले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो। उहाँले बाढीबाट प्रभावित, घाइते तथा विस्थापितहरूको शीघ्र उद्धार, उपचार र सुरक्षित पुनर्स्थापनाको कामना गर्दै यस कठिन घडीमा प्रभावित समुदायसँग विश्वविद्यालय परिवार ऐक्यबद्ध रहेको बताउनुभयो।
उपकुलपति सुवालज्यूले विपद्का समयमा विश्वविद्यालयमा कार्यरत पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको संयुक्त योगदानमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ५४ लाख रुपैयाँ जम्मा गरिएको जानकारीसमेत दिनुभयो। उहाँले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य शीघ्र सफल होस् भन्ने कामना गर्नुभएको थियो।
कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा. सुदीप ठकुरीज्यू, विभिन्न ग्र्याजुएट स्कुलका डीन, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, कार्यकारी निर्देशक लगायत पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रशासन अधिकृत शैलेन्द्र पाठकले गर्नुभएको थियो।