मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ ल को आयोजनामा “नेपालमा सडक बालबालिका, गिरोह तथा संगठित अपराध” विषयक अध्ययनका निष्कर्ष प्रस्तुति तथा सरोकारवाला संवाद कार्यक्रम २०८३ साउन २८ गते वीरेन्द्रनगर, सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यूको प्रमुख आतिथ्यता तथा ग्र्याजुएट स्कुल अफ लका डिन सह-प्रा. डा. पूर्णमान श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापकहरू, जिल्ला अदालत सुर्खेतका न्यायाधीश, न्यायिक तथा कानुनी क्षेत्रका अन्य प्रतिनिधि, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था, बालबालिका तथा सामाजिक क्षेत्रमा कार्यरत सरोकारवाला, अध्ययन-अनुसन्धानकर्ता तथा अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता, बेलायतको लन्डनस्थित युनिभर्सिटी अफ वेस्टमिन्स्टरकी प्राध्यापक डा. स्याली एट्किन्सन-शेपर्ड ले अनलाइन माध्यमबाट अध्ययनका प्रमुख निष्कर्ष प्रस्तुत गर्नुभएको थियो। उहाँले नेपालमा सडक बालबालिका, गिरोह तथा संगठित अपराधसँग सम्बन्धित विषयमा गरिएको अध्ययनका प्रमुख निष्कर्ष, अनुसन्धानबाट देखिएका प्रवृत्ति तथा सरोकारवाला निकायका लागि यसको सम्भावित प्रभावबारे प्रस्तुति दिनुभएको थियो।
त्यसैगरी, अनुसन्धान टोलीका सदस्य प्रा. डा. गोविन्द सुवेदीज्यूले अध्ययनका निष्कर्ष तथा नेपालको सामाजिक, शैक्षिक, कानुनी र नीतिगत सन्दर्भसँग त्यसको सम्बन्धबारे आफ्नो प्रस्तुति तथा विश्लेषण प्रस्तुत गर्नुभएको थियो। अनुसन्धानमाथिको समीक्षात्मक सत्रमा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले आ-आफ्नो क्षेत्रको दृष्टिकोणबाट अध्ययनका निष्कर्षमाथि समीक्षा तथा धारणा प्रस्तुत गर्नुभएको थियो।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तर्फबाट हाल प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालज्यू, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार सह-प्राध्यापक डा. अर्जुनबहादुर अयडीज्यू तथा सुर्खेत जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश दीपक ढकालज्यूले अध्ययनमाथि समीक्षात्मक प्रस्तुति दिनुभएको थियो। समीक्षाका क्रममा अध्ययनका निष्कर्षलाई सुरक्षा, संस्थागत तथा न्यायिक दृष्टिकोणबाट हेर्दै यसको व्यावहारिक तथा नीतिगत महत्त्वबारे धारणा राखिएको थियो।
समीक्षा सत्रपछि सम्पन्न खुला छलफलमा सहभागीहरूले अध्ययनका निष्कर्ष, सडक बालबालिकाको अवस्था, बालबालिकाको संरक्षण, गिरोह तथा संगठित अपराधसँग सम्बन्धित चुनौती, संस्थागत प्रतिक्रिया, कानुनी तथा नीतिगत पक्षलगायतका विषयमा प्रश्न, जिज्ञासा, अनुभव तथा सुझावहरू प्रस्तुत गरेका थिए। छलफलमा उठेका विषय तथा जिज्ञासामाथि अध्ययन टोलीले प्रतिक्रिया तथा थप स्पष्टता प्रदान गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथि उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यूले अनुसन्धान, ज्ञान निर्माण तथा प्रमाणमा आधारित नीतिनिर्माणका लागि यस्ता संवादको महत्त्वबारे आफ्नो धारणा राख्नुभएको थियो। उहाँले विश्वविद्यालय, अनुसन्धानकर्ता, सरकारी निकाय तथा अन्य सरोकारवालाबीचको सहकार्य र संवादले सामाजिक समस्याको अध्ययन तथा समाधानका लागि महत्त्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका ग्र्याजुएट स्कुल अफ ल का डिन सह-प्रा. डा. पूर्णमान श्रेष्ठज्यूले अनुसन्धान तथा छलफलबाट प्राप्त निष्कर्ष र सुझावलाई आगामी दिनमा अध्ययन, अनुसन्धान तथा नीतिगत बहसमा उपयोग गर्नुपर्नेमा जोड दिँदै कार्यक्रमको औपचारिक समापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ग्र्याजुएट स्कुल अफ लका कार्यक्रम निर्देशक तथा यस अध्ययन टोलीका सदस्य सह-प्राध्यापक विनयकुमार झाज्यूले गर्नुभएको थियो।
यस कार्यक्रमले सडक बालबालिका, गिरोह तथा संगठित अपराधसँग सम्बन्धित अध्ययनका निष्कर्षलाई सम्बन्धित सरोकारवालामाझ पुर्याउनुका साथै अनुसन्धान र व्यवहार, नीति तथा संस्थागत अभ्यासबीच संवाद र सहकार्यको आधार निर्माण गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।